नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मदिरा सेवन गर्ने व्यक्ति प्रहरी कर्मचारी हुन नसक्ने वताएका छन ।
सुदूरपश्चिमको क्षेत्रीय भ्रमणका सिलसिलामा डोटी पुगेका महानिरीक्षक अर्यालले भने ‘कि प्रहरी सेवा रोज्नु प¥यो कि रक्सी रोज्नु प¥यो।’ प्रहरी सेवामा बस्नेहरुले रक्सी सेवन गर्न नमिल्ने उनले बताए। मंगलवार बिहान डोटीमा राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले राखेका जिज्ञासाहरुमाथी वोल्दै अर्यालले सो कुरा बताएका हुन।
होलीको दिन डोटीको जोरायल ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी र स्थानीय केही व्यक्तिहरुले संगै बसेर मदिरा सेवन गरेपछि भएको दोहोरो भिडन्तको प्रसंग कार्यक्रमका सहभागिहरुले महानिरीक्षकलाई जानकारी गराएपछि उनले त्यस्ता प्रहरी कर्मचारीहरुलाई तत्काल कारवाही हुने वताए।
‘प्रहरी एक्लैले चाहेर पनि शान्ति सुरक्षा गर्न सक्दैन’ अर्यालले भने ‘प्रहरीलाई नागरिकहरुको सहयोग चाहिन्छ, यसमा सवैले सहयोग गरिदिनु प¥यो।’ प्रहरीभित्र अनुशासनको बिषयमा कुनै प्रकारको ‘कम्प्रोमाईज’ नहुने अर्यालले वताए।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपायलमै बस्नु पर्नेमा धनगढी बस्ने गरेको गुनासोप्रति कडा रुपमा प्रस्तुत हुँदै अर्यालले भने ‘मैले उहाँलाई (प्रहरी नायव महानिरीक्षकलाई) निर्देशन गरिसकेको छु क्षेत्रीय कार्यालय दिपायल हो दिपायलमै बस्नुहोस् भनेर, अव यस्तो गुनासो सुन्न नपरोस ।’ उनले भने ‘धनगढी बसेर दिपायल घुम्न आउने होईन, दिपायल बसेर बरु धनगढी घुम्न जानुहोस्, सवै जिल्लामा घुम्नुहोस् ।’ क्षेत्रीय कार्यालय दिपायलमै भएकोले प्रहरी नायव महानिरीक्षकले दिपायलमै बस्नु पर्ने अर्यालको भनाई छ।
प्रहरी भर्नाको सम्वन्धमा सहभागिहरुले उठाएको गुनासाहरुमा वोल्दै अर्यालले भने ‘हामीले प्रहरी भर्ना प्रक्रियालाई बैज्ञानिक, व्यवस्थित, सुदृढ र लोकसेवा आयोगको मापदण्ड अनुसार वनाएका छौं, यति हुँदाहुँदै पनि गुनासो आएको छ, म यसवारेमा बुझ्छु ।’ उनले प्रहरी भर्नाका क्रममा अनियमितता भएको गुनासो सुदूरपश्चिम भ्रमणका क्रममा मात्रै सुन्नु परेको बताए।
‘अन्य क्षेत्रमा अन्य थुप्रै खालका गुनासाहरु आउने गरेका छन’ अर्यालले भने ‘तर प्रहरी भर्नामा अनियमितता भएको गुनासो आएको छैन, यहाँ आएर यो गुनासो सुनेको छु, यस बिषयमा म अध्ययन गर्छु।’
डोटी जिल्लाका प्रहरी संरचनाहरुको बिकास गर्न र प्रहरी ईकाइहरु थप गर्नका लागि आफु सकारात्मक रहेको वताउँदै अर्यालले भने ‘जिल्ला प्रहरी कार्यालयको भवन पनि जिर्ण भएको मैले देखे, आउने आर्थिक वर्षमा यसका लागि बजेट निकासा गर्न पहल गर्छु ।’ प्रहरी संख्या न्यून भएकोले शान्ति सुरक्षा कायम गर्न समस्या भएको वताउँदै अर्यालले भने ‘यदि माग भएका प्रहरी ईकाईहरु थप गर्ने हो भने हामीलाई तत्काल ४० हजार प्रहरी कर्मचारी थप चाहिन्छ ।’
अर्याल आजै अछामका लागि हिडेका छन भने भोली क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलमा नयाँ निर्माण भएको महिला व्यारेक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको क्षेत्रीय प्रहरी कार्यालयले जानकारी दिएको छ।