स्थानीय १२ वर्षीय बालक सन्दिप पाण्डेय हरेक दिन क्रिकेटको ब्याड समातेर क्रिकेट खेल्ने आफ्ना साथीहरु खोज्दै हिँड्ने गर्दछन्। विद्यालयपछि आफ्नो टोलमा दिनहुँ साथीहरुसँगै क्रिकेट खेल्ने उनको दिनचर्या बनिसकेको छ।
यस क्षेत्रमा क्रिकेटका गतिविधि बढ्दै जाँदा यो खेलप्रतिको आकर्षण बालक, कलेजस्तरका विद्यार्थी र वयस्क व्यक्तिमा ह्वात्तै बढाइदिएको पाइन्छ । क्रिकेटप्रतिको रुचि बढिरहेको भए पनि कतिपय बालक आफ्नो पढाइप्रति सचेत पनि देखिन्छन्। “पढाइमा बाधा पुग्ने गरी क्रिकेट नखेलौँ, परीक्षा सकिएको हो ?” दुईजनाको भेट भएपछि पाण्डेयका सहपाठी विवेक ओझा प्रश्न गर्दै थिए। यतिबेला कैलाली जिल्लाका सबै विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ।
चार कक्षामा पढ्दै गरेका यी बालकका लागि क्रिकेट खेल्न खेल मैदान खोज्ने चुनौती भने रहेको छ। खेल मैदानको अभावमा पाकेको गहुँबाली कटिएको खाली खेत होस् वा खुला सडक, खाली ठाउँ भेटिएमा यी बालक क्रिकेट खेल्न तम्सिन्छन्। टेलिभिजन अगाडि बस्दा पनि क्रिकेट प्रसारण हुने च्यानल हेरेर यी बालक रमाइरहेका हुन्छन्।
भारतमा हाल जारी ‘विश्व कप टी-२० क्रिकेट’ प्रतियोगिताले पनि अधिकांशको ध्यान क्रिकेट खेलतर्फ आकर्षित गरिरहेको छ। बालबालिका आफ्नो पढाइलाई भन्दा क्रिकेटलाई बढी महत्व दिँदा पढाइ बिग्रिन थालेको कतिपय अभिभावक बताउँछन्। “घरमा बस्दा टेलिभिजन अगाडि झुम्मिएर क्रिकेट खेल हेर्नुपर्ने, घरबाहिर जाँदा ब्याड समातेर खेल खेल्न तम्सिने केटाकेटीको बानीले पढाइमा बाधा पुर्याएको छ” एकजना स्थानीय अभिभावक चेतराज भट्टले दुःखेसो सुनाए।
“पहिले क्रिकेट खेल खेल्नेलाई मूर्ख र हेर्नेहरुलाई महामूर्ख भन्ने गरिन्थ्यो, यस्तो हुँदा पनि केटाकेटीमा यसप्रतिको आकर्षण किन बढ्यो होला” – क्रिकेट खेलबारे अनभिज्ञ रहेका भट्टले प्रश्न गरे। यहाँ क्रिकेट खेल्नका लागि चाहिने खेल मैदानको अभाव खड्किएको भए पनि मैदान निर्माण गर्नेतर्फ खास पहल भएको देखिँदैन। यद्यपि वडा नम्वर-३ को मोहना नदी किनारमा मैदान निर्माणको पहल थालिए पनि सहरमा बस्ने बालबालिकाका लागि उक्त मैदान अपायक पर्ने गरेको छ। धनगढी नगरपरिषद् बैठकले धनगढीलाई क्रिकेट सिटी बनाउने निर्णय दुई वर्षअघि नै गरिसकेको भए पनि त्यसअनुसारको क्रिकेट खेलको विकासका लागि योजना र कार्यक्रमहरु अझैसम्म आउन नसकेको खेलप्रेमीहरु बताउँछन्।
क्रिकेटमा राम्रो प्रतिभा देखाउन सक्नेले अबका दिनमा यो खेल खेलेरै बाँच्न सक्छन् भन्ने उदाहरणहरु देखिन थालेको धनगढी क्रिकेट एकेडेमीका यज्ञराज जोशी बताउँछन्। हालैमात्र धनगढीमा सम्पन्न ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग–३’ प्रतियोगितामा विभिन्न पाँचवटा टिमका मालिकले खेलाडीको मोलतोल गरेर (अक्सन) क्रिकेटरहरुलाई आ–आफ्नो टिममा अनुबन्ध गरेका थिए।
धनगढीमा भएको यो प्रतियोगितमा खेलाडीको मोलतोल गरेर आ–आफ्नो टिममा अनुबन्ध गराउनु नेपालको क्रिकेट क्षेत्रका लागि नौलो व्यवहार रहेको जोशीले बताउनुभयो । खेलमा सम्भवतः सबैभन्दा बढी नियम रहेको खेलका रुपमा क्रिकेटलाई लिने गरिएको छ । रासस