हल्लो सुमन! पछाडिवाट आएको आवाजले ऊ झस्कन्छ। कालो चस्मा, लामो कपाल, कता देखे देखे जस्तो लाग्ने अनुहार, तर ठम्याउन सकेन। सुमन सञ्चै छौं? सुमनले सञ्चै भएको इसारासहितको टाउँको हल्लायो तर उसले अझै चिन्न सकेन, उसले तपाइको नाम भनेर सोध्न नभ्याउँदै उनले भनिन्–म शरिष्मा। तिमी नेपालमा? उसले आश्चर्यचकित हुँदै सोध्यो। म तीन दिन भयो नेपाल आएकी तिमी यही हुन्छौं भन्ने थाहा थियो मलाई अनि भेट्न आएकी। शरिष्माले एक सासमा यति कुरा भनेर भ्याइ।
हुन त, आज ११ वर्षपछि भेटेको थियो उसले शरिष्मालाई, तर पनि उही आँखा, उही गोरो अनुहार, मिलेका दाँत। बसाैं न कतै, कफी खाएर कुरा गराैं शरिष्माले प्रस्ताव गरिन्, सुमनले सहजै स्वीकार गर्यो।
बानेश्वर चोकभित्रको एउटा कफी पसल। जहाँ पहिलो पटक शरिष्माले नै सुमनलाई लगेकी थिइन्, त्यही पुगे उनीहरु। ११ वर्षपछि पहिलो पटक त्यही पुगेको थियो सुमन, जहाँ उसले शरिष्मासँग जीवन विताउने कसम खाएको थियो। त्यही बसेर पानीपुरी खाँदै जीवनको भविष्यको रेखा कोर्थे उनीहरु। भविष्यको कल्पनामा हराउँथे अनि सँगै बाँच्ने र मर्ने कसम खान्थे। सुमन ममी वावालाई कस्तो छ? सुमन..? मलाई फुच्चे भनन् एक्कासी सुमनले शरिष्मालाई प्रस्ताव गर्यो। अरे किन? तर सुमनले जवाफ दिन चाहेन। सुमन त्यही दिनहरु सम्झन्छ, शरिष्माले उसलाई कति स्नेहपूर्वक फुच्चे भनेर सम्वोधन गर्थिन।
उनी भन्ने गर्थिन फुच्चे म तिमीलाई धेरै माया गर्छु, मलाई पनि धेरै माया गर है? सुमन जवाफ दिन्थ्यो धत् काली तलाई नगरेर कसलाई गर्नु त माया? कहिले नगरकोट, कहिले गोदावरी त कहिले चोभार जान्थे घुम्न अनि माया व्यक्त गर्ने थलो बनेका थिए ति ठाउँ। आकाशका पंक्षी जस्तै गरी मायाको वेगमा वेप्रवाह उडिरहे उनीहरु। सुमनले मनमनै भन्यो–मलाई आज पनि तिम्रो मुखवाट निस्कने त्यही फुच्चे शव्द सुन्ने रहर छ काली।
जीवन कस्तो वित्दै छ शरिष्मा तिम्रो? लामो मौनता पछि सुमनले सोध्यो। शरिष्मा झस्कदै भनि ठिकै छ सुमन। शरिष्मालाई पनि भन्न त मन थियो तिमी विनाको जीवन कस्तो पो हुन्छ र फुच्चे? औंशीको रात जस्तो, तारा नभएको आकाश जस्तो। यो ११ वर्षमा मेरो एकपटक पनि याद आएन तिमीलाई शरिष्मा? फेरि अर्को प्रश्न गर्यो सुमनले। याद? खासै आएन। फेरि छोटो जवाफ दिइ शरिष्माले। शरिष्मालाई भन्न त मन थियो–तिमी यादको कुरा गर्छौं फुच्चे, तिमीविनाको प्रत्येक सेकेन्ड समय कसरी विताएको छु, त्यो मलाई मात्र थाहा छ। तिमीले फेसवुकमा लेखेका प्रत्येक शव्दहरु याद छन् मलाई।
तिमीसँग मैले कति पटक कुरा गरेको छु फुच्चे तिमीले पो चिन्न सकेनौं मलाई। म सधै तिम्रै साथमा छु फुच्चे। तिमीलाई चै मेरो याद आयो कि आएन सुमन? शरिष्माले पहिलो प्रश्न गरिन्। धेरै सम्झे तिमीलाई, फेसवुकमा धेरै खोजे अहँ भेटाउन सकिन् शरिष्मा। तिम्रा साथीहरुसँग पनि तिम्रो नम्वर खोजे अहँ पाउन सकिन। यति मात्र जवाफ दियो सुमनले। यति कुरा गरिरहँदा सुमन र शरिष्माको दुई हातहरु एक भइसकेका थिए।
शरिष्माले टेवलमा रहेको आफ्नो हाते पर्स खोलेर सुमनको पुरानो फोटो हेरिन् र एकपटक सुमनको अनुहारमा हेरिन्, विल्कुल उही अनुहार, केही फरक थिएन। तिमी त उस्तै पो रहेछाैं सुमन। म कहिले पो फरक थिए र वरु तिमीमा पो फरकपन आएछ। म मा के फरक पायौं र तिमीले? केही होइन। सुमनसँगै जवाफ त धेरै थियो। ऊ भन्न सक्थ्यो-कुर्ता सलवारमा हिड्ने तिमी आज कस्तो पहिरनमा छाैं, रिवनले कपाल वाटेर हिड्ने तिमी आज कस्ती भयौं? तर उसले भनेन,मनमनै सम्झिरह्यो। तिमी पहिलोपटक लिफ्ट चढ्न नजानेको, डराएको त्यस्तो मान्छे आज यस्तो भएछौं। यो वाक्य भन्न चाहेको थिएन उसले तर मुखवाट निस्किहाल्यो। शरिष्मालाई पनि याद नभएको त होइन! त्यही सुमन थियो जसले उसलाई पहिलो पटक पानीपुरी खुवाउन लगेको थियो, पुरीमा पानी र अचार आफै मिसाएर खानुपर्ने त्यो पनि त नजानेको त हो नि। त्यही भएर जव तिम्रा याद आउँछन् पानी पुरी खाने गरेको छु फुच्चे मैले, जवाफ दिन मन थियो तर केही भनिन् शरिष्माले।
उनीहरुले आफ्नो भेटको अन्तिम कफी सम्झियो सुमनले, पुतलीसडकको एक क्याफेमा सँगै कफी खाएका थिए। दुई कप कफी पालैपालो। त्यसको २ दिनपछि एकाएक हराएकी थिइन् शरिष्मा, फेसबुक डिएक्टीभ थियो फोन स्विच अफ। त्यसको केही सातापछि सुन्यो शरिष्मा विदेश लागिन विहे गरेर। फेसवुकमा धेरै पटक खोज्यो शरिष्मालाई अहँ पत्ता लाग्न सकेन। त्यसपछिका दिनहरुमा आफैभित्र हराउँदै गयो सुमन, रक्सी र चुरोट दैनिकी बन्न थाल्यो। पढाइमा अब्बल सुमन पढाइमा ध्यान दिन छाड्यो। विस्तारै डिप्रेशनको शिकार वन्दै गयो, धेरै पटक आत्महत्या गर्ने कोशिश पनि नगरेको होइन, तर सकेन। समय वित्दै गयो, कयांै कोशिश गर्यो सुमनले शरिष्मालाई भुल्न तर सकेन।
आज एक्कासी ११ वर्षपछि शरिष्मालाई भेट्दा पहिलो भेटको झलझल्ती याद गर्यो सुमनले। सुमनलाई आज पनि याद छ, सेतो कुर्ता निलो सुरुवालमा आएकी थिइन् शरिष्मा। गाउँकी केटी, तर हिस्सी परेकी। पहिलो पल्ट देख्दा नै मन पराएको थियो सुनमले। अनि कहिल्यै नमर्ने माया, तर आज वाटो अलग, उद्देश्य अलग फेरि पनि आज एउटै ठाउँमा। शरिष्मा किन खवर पनि नगरी विदेशियौं तिमी? सुमनले सोध्यो। खवर गर्नुपर्ने कारण पनि त के थियो र? शरिष्माले प्रतिप्रश्न गरिन्। शरिष्मालाई पनि जवाफ दिन त मन थियो, सुमन खवर नगरी जान मन त कहाँ थियो र? तिमीलाई पर्नसक्ने चोट मैले मात्र महशुस गर्न सक्थे।
त्यसो त शरिष्मालाई सुमनको याद नआएको पनि होइन। के–के गरिनन् शरिष्माले सुमनका याद मेट्नलाई। नयाँ फेसवुक आइडी वनाइन्, अनि दिनहुँ जसो सुमनसँग कुरा गर्थिन, भन्ने गर्थिन सुमन म तिमीलाई धेरै माया गर्छु। सुमन जवाफ दिन्थ्यो, म तिमीलाई माया गर्न सक्दिन, सविना। उसलाई के थाहा आफुभन्दा धेरै माया गर्ने शरिष्माले नै सविनाको नाममा फेसवुक चलाउँदै छिन् भन्ने कुरा। त्यो थाहा हुन्थ्यो भने त उसले पनि धित मर्ने गरी भन्ने थियो, म पनि त तिमीलाई धेरै माया गर्छु नि सविना। आफ्नो याद सुमनलाई नदिलाउन नै यी सव गरिरहेकी थिइन् शरिष्मा, आफ्नो खास फेसवुक अकाउन्ट पनि त त्यही कारण वन्द गरेकी थिइन् शरिष्माले। सविनाको नामवाट धेरै कुरा गरिन् कहिल्यै पनि सुमनको मन पगाल्न सकिनन्। कारण सुमन शरिष्मालाई प्रेम गर्थ्यो। छोटो कुराकानी भयो कफी पीएपछि उनीहरु फेरि भेट्ने वाचासहित छुट्टिए।
बेलुका सुमनले खाना खाएर ओछ्यानमा पल्टिदै फेसवुक खोल्यो सविनाको मेसेज रहेछ,‘आइ लभ यु’ फुच्चे। बट आइ डन्ट लभ यु- सुमनले जवाफ दियो। म तिम्रो शरिष्मा उतावाट जवाफ आयो। तर सुमनले पत्याएन, दिउँसो खिचेको दुईजनाको सेल्फी फोटो मेसेजमा आयो। वल्ल सुमन छागाँवाट खसेजस्तो भयो। अनि उसले धित मर्ने गरी भन्यो,‘आइ लभ यु शरिष्मा’। एकाएक सविना अफलाइन भइन्, फेसवुक डिएक्टीभ भयो र उसैगरी हराइन जसरी शरिष्मा हराएकी थिइन्। तर आज सुमनको सहारा वनेको उनीहरुले कफी खाँदा खिचेको त्यही सेल्फी, जसले सुमनको जीवनलाई साहारा दिएको छ।