चैत १५ गते सोमबार। मुखमा भातको गाँस मात्रै हालेको थिएँ, मोबाइलको घण्टी बज्यो। जनता प्राबिका दम्कीका प्रधानअध्यापक राजकुमार केसीको फोन रहेछ।
‘तपार्इंको शिक्षकको लाइसेन्समा जिल्ला शिक्षा कार्यालयको छाप रहेनछ। परीक्षा दिन पाउनु हुन्न,' यत्ति भनेर फोन राखे।
केसीको जंगे उर्दीले मनमा ठूलो आँधीबेहेरी ल्यायो। गाँस खाउँ कि थाल खाऊँ भयो। दालको साटो आँसुसँग केही गाँस भात खाएँ। पाहुना लागेको ठाउँमा भातै छाडेर हिंड्न पनि त भएन। तोकिएको परीक्षा केन्द्रमा पुगेँ जहाँ प्रावि तहका अस्थायी शिक्षक छनौटका लागि परीक्षा हुँदैथियो। त्यसको एक उम्मेदवार म पनि थिएँ।
दुई महिनाअगाडि रेडक्रस सोसाइटी जिल्ला शाखाले पनि रोजगारका लागि आबेदन मागेको थियो। बिबाहितालाई प्राथमिकतामा भनेर शाखाले शैक्षिक योग्यताका प्रमाणपत्रभन्दा पनि बढी महत्व बिहे दर्ताको प्रमाणपत्रलाई दिएका थिए। पछि छनौट गरियो, अबिबाहितलाई।
रेडक्रसको सात सिद्धान्तको हरण भयो। सायद रेडक्रसका पदाधिकारी र परीक्षा समितिले मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयम् सेवा, एकता र विश्व व्यापकताको राम्रो अभ्यास गरे, भन्ने एउटा गर्ने अर्को गरेर। दर्खास्तमा आव्हान भएभन्दा फरक छनौट भएकाले मैले रेडक्रसबिरुद्ध उजुरी गरेको हल्ला आगोसरी फैलिएछ। जसरी अहिले मेरो प्रमाणपत्रमा छाप नभएको बिषय गाउँका शिक्षकहरुबीच फैलिएको थियो।
मुद्दा नहाले पनि हालेको भन्ने हल्लाजस्तै लाग्यो मलाई। मैले विश्वास गरिनँ। यसअघि यही लाइसेन्सले दरखास्त हालेको पनि हो। अहिलेजस्तै भयो त्यहाँ पनि शिक्षक छनौट। परीक्षामा सफल भइएन, त्यो अर्को पाटो हो। यसले मलाई परीक्षाबाट बञ्चित गराइन्न भन्नेमा ढुक्क पनि थिएँ। यदि प्रधानाध्यापकको नियत सफा थियो भने यो कुरा पहिले नै भनिन्थ्यो। मैले कागजात बुझाएको डेढ महिनासम्म यो कुरा किन भनिएन? परीक्षा केन्द्रमा पुगेर सोध्दा केसीले आफूले गएराति हेटौंडा आएर मात्रै कागजात हेरेको बनिबनाउन जवाफ दिए।
मलाई जिल्ला शिक्षा कार्यालयमा जान भनियो। गएँ। सहायक प्रमुख जिल्ला अधिकारीले प्रमाण पत्रमा शिक्षक सेवा आयोगको छाप रहेकाले ढुक्क भएर परीक्षा दिन पाउने बताए। फेरि केन्द्रमा गएँ। आलटाल गरियो। केरकार गरियो। प्रमाणपत्रमा रहेको सामान्य त्रुटिलाई देखाएर नक्कली करार गर्न प्रधानाध्यापक र बिद्यालय निरीक्षक रामहरि थापाले सक्दो प्रयत्न गरे। गल्ती मेरो थिएन। जिल्ला शिक्षा कार्यालय पर्साको थियो। मलाई कर्मचारीले छाप नलगाई प्रमाणपत्र थमाए। त्यत्तिबेलै जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यको फोन बज्यो, निरीक्षकको मोबाइलमा। परीक्षा निष्पक्ष बनाउन र अनलाइनलमा हेरेर प्रमाणपबारे निर्क्यौल गर्न भनिएको रहेछ। यो कुरा भोलिपल्ट म परीक्षामा अनियमितता भएको उजुरी लिएर आचार्यको कार्यकक्षमा पुग्दा थाहा पाएकी हुँ। अघिल्लो दिन बाघ झैं गर्जने बिद्यालय निरीक्षक थापा आज मुसो बनिसकेका रहेछन्। कारण थियो विद्यालय निरीक्षकबिरुद्ध उजुरी गर्ने म चौथो ब्यक्ति भएको थिएँ।
परीक्षामा कुनै अनियमितता नभएको प्रष्टिकरण दिइरहेका थिए। त्यही परीक्षामा चलखेल छ भन्ने पहिले नै सार्बजनिक भइसकेको थियो। पत्रपत्रिका समाचार पनि आएका थिए। त्यही स्कूलमा निजी स्रोतमा कार्यरत शिक्षकलाई जागीर खुवाउने योजना थियो। प्रधानाध्यापकले निवेदन लिएर जानेलाई यसै भन्थे। कत्तिले प्रधानाध्यापकको यही भनाइलाई आधार मानेर दरखास्त नै हालेनन्। शिक्षक खाली भएको लामो सयमपछि मात्रै दरखास्त आब्हान गर्नु, दरखास्तको अन्तिम मिति (२०७२ साल फागुन ४ गते) सकिएको लामो समयपछि मात्रै परीक्षा आव्हान गर्नु यसका कारण हुन्।
‘आफन्तलाई जागीर खुवाउन, परीक्षामा आलटाल' यही शीर्षकको समाचार फागुन २६ गते नै बुधबार साप्ताहिकमा आएको थियो। नतिजा यही समाचारलाई सत्य बनाउनेगरी आएकाले परीक्षामा अनियमितता र भ्रष्टाचार भएको पुष्टि पनि भयो।
प्रधानाध्यापक केसीले सफल उम्मेदवार बिमलकुमार केसीलाई नियुक्त गर्न शिक्षक सेवाको लिखित परीक्षा उत्तीर्ण गरी करारसूचीमा रहेकालाई डरधम्की दिई निवेदन समेत अस्वीकार गरेको सुन्नमा आएको छ। तमाम घटनाक्रमले परीक्षामा अनियमितता गरेको देखिएकाले छानबिन गरी सत्यतथ्य पत्ता लगाएपछि मात्रै बिमलकुमार केसीलाई नियुक्ति दिनुहुन अनुरोध गर्दछु भन्ने व्यहोराको निवेदन मैले जिल्ला शिक्षा कार्यालय र अख्तियार दुरुपयोग आयोगम मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा दर्ता गराएँ। अख्तियारका प्रतिनिधि र जिल्ला शिक्षा अधिकारीले यसलाई मृत्युपछिको ओखतीको अभिब्यक्ति दिए। पत्रपत्रिकामा आएका समाचार मौखिक उजुरी गराउँदा उनीहरुले भन्दै थिए– यस्ता घटनाको पछि लाग्न सकिन्न।
बिहान साढे १० बजे सुरु हुने भनिएको परीक्षा १२ बजेर २० मिनेटमा सुरु भएर दिउँसो ३ बजेर २० मिनेटमा सकियो। नतिजा रातको ८ बजेपछि मात्रै आयो। लेख्नभन्दा पढ्न बढी समय लाग्नु पनि अर्को आश्चर्य हो। अर्न्तवार्ताका लागि म, जमुना नेपाल र बिमलकुमार केसी छानियौँ। अर्की उम्मेदवारी शान्तिमाया गोले तयारी गर्न नपाएको र परीक्षा राम्रो नभएको भनेर पहिल्यै बाहिरिसकेकी थिइन्। बिषयगत प्रश्नका जबाफ सबैले दिए, बस्तुगत र सामान्य ज्ञानमा सबै उम्मेदवार चुन्यौँ। अर्न्तवार्तापछि हामी उम्मेदवार यही बिषयमा गफिएर बस्यौँ। अर्न्तवार्ता सकिएको केहीबेरमै नतिजा सार्वजनिक भयो। नतिजा पहिल्यै तयार भएजस्तै बिमल सफल हुँदा म बैकल्पिकमा परेँ। ‘आफन्तलाई जागीर खुवाउन, परीक्षामा आलटाल' यही शीर्षकको समाचारलाई सार्थक पार्यो नतिजाले।
परीक्षाअगावै कसलाई छनौट गर्ने भनेर माइन्डसेट गरेर परीक्षकहरु बस्छन् अनि त्यसैअनुसार व्यवहार गर्छन्। अरु त अरु प्रधानाध्यापकले मलाई लामो भूमिका बाँधेर प्रश्न सोधे। सार थियो– ‘तपाईं तराईमा जन्मेको मानिस कसरी पहाडमा पढाउन सक्नु हुन्छ?' उनको मानसिकता र सोंचको स्तर देखेर मलाई दया लाग्यो। जीवननै पहाडमा बिताउने आँट र हिम्मतसाथ बैबाहिक जीवन सुरु गर्ने म पहाडमा पढाउनचाहिँ नसक्ने कसरी भएँ? एसएलसीदेखि स्नातकोत्तर दोस्रो बर्ष अध्ययन गरिरहँदासम्म शिक्षा संकाय रोजिरहँदा शिक्षणलाई नै मैले पेशा बनाउन प्रयास गर्नु हुँदैन थियो र?