कुनै समय थियो। पल्लो गाउँमा मान्छे बिते भने वल्लो गाउँका मान्छे झोक्राउँथे, संवेदनाले छुन्थ्यो। कतै दुर्घटना वा घटनाबाट ज्यान गुमाउनेहरु प्रति लामो सुस्केरा काँढेर संवेदना दर्शाउँथे। नजिक भए र भ्याए सम्म सबै काम छाडेर घटनास्थल पुग्थे। वैकुण्ठ बासको कामना गर्थे, राम राम भन्थे।
जब जब माओवादी जनयुद्व चर्किदै गयो। द्वन्द्वरत पक्षबाट मान्छेहरु मारिन थाले संवेदनाहरू पनि विस्तारै विभाजित हुन थाल्यो। को मर्यो? माओवादी कि प्रहरी वा सेना भनेर भन्न थालियो। संवेदना पनि विचार र आस्थासँग जोडिन थाले। विस्तारै मान्छे मर्नुमा सहानुभूति राख्ने भन्दा कति जना, कहाँ मरे, राज्य र गैह्र राज्यका को धेरै परे भन्ने विषयले अर्थ राख्न थाल्यो।
एक दुई जनाको मृत्यु त सामान्य बन्दै गयो। एक दुई जनाप्रति संवेदना जाहेर गर्न पनि निरर्थक मान्न थाले मान्छेहरू। शब गनेर तथ्यांक उतार्ने परिवेशको निर्माण भयो। मृत्युवरण गर्नेका आफन्त बाहेक अरुमा मृत्युको संवेदनाले छुन छाड्यो। केही गन्य मान्य र ठूला मान्छे परेछन् भने केहि चर्चा हुन्थ्यो तर मानवीय संवेदना भने निकै न्यून।
यससँगै मृत्युका विषयपनि फरक फरक हुन थाले। को कसरी मर्यो र कसरी मारे भन्ने तिर मानिसको ध्यान जान थाल्यो। जिउँदै गाड्यो कि, गोली ठोक्यो कि, हात खुट्टा भाँचेर जमिनमा गाड्यो कि, उल्टो झुण्डाएर मारे वा आगो लगाइयो आदि इत्यादि विषयतिर मानिसको संवेदना पुग्न थाल्यो। मृत्यु पनि सामान्य र असामान्य बन्न थाल्यो। सामान्य तरीकाले मरेको मानिस प्रति सन्तुष्टिको श्वास फेनु पर्ने दिनसमेत आयो।
यी र यस्ता अवस्थाका सनसनी पूर्ण र कहालि लाग्दो दृश्यले मान्छेलाई संवेदनाहिन र कठोर बनाउँदै लग्यो। हरेक कुरा देख्दा भोग्दा र सुन्दा सुन्दा मानिस अहिले यति सम्म संवेदनाहिन बन्न थालिसकेको छ कि आँखै अगाडि जीवन र मरणको दोसाँधमा कोहि छट्पटाइरहेको छ भने पनि उसप्रति ध्यान दिन छाडेर आफ्नो बाटो लाग्छ।
चैत्र ११ गते पोखराको नयाँबजारमा सडक दुर्घटनामा पनि यस्तै संवेदना शून्य मानिसको जमात देखियो। बाटो हिडिरहेका एक अर्धवैसे पुरूषलाई ट्याक्सीले ठक्कर दिएर भागेछ। बाटोमा रक्ताम्य भएका ति पुरुषलाई उठाएर अस्पताल लाने भन्दा पनि मोवाइलमा फोटो खिचेर, हा हा र हु हु गर्नेको भिडले घाइतेलाई चटके बनाइरहेका थिए। दुर्घटनाबाट जीवन मरणको दोसाँधमा रहेका घाइते प्रति सहानुभुति राखेर मानविय भावना प्रकटगर्न खोज्ने सच्चा मन त्यहाँ देखिएनन्।
अर्को तिर ट्याक्सीवाला पनि आफन्त नभएका घाइते ट्याक्सीमा राखेर लान आनाकानि गर्दा रहेछन्। घाइतेलाई लिएर गए प्रहरीले लफडा गर्छ भन्ने उनीहरुको तर्क थियो। यो त भयो सामान्य नागरिकको व्यवहार त्यतिनै बेला प्रहरीको बा १ झ १२२७ नम्बरको भ्यान आयो। सबैलाई लाग्यो प्रहरीले खबर पाएर आयो अब घाइतेलाई अस्पताल लान्छ। केहि युवाले घाइतेलाइ खुट्टा र हातमा झुण्डाएर उचाले तर, दुर्भाग्य प्रहरीको भ्यान भीड र घाइते तिर झिमिक्क पनि नगरी हुँइकियो। व्यस्त सडकको बीचमा त्यतिका हुल मान्छे हुँदा के भएछ भनेर चासो राख्नुपर्ने प्रहरी कुनै सोधपुछ विना त्यसरी हुँइकिदा सबै जिल्ल परें! प्रहरीको त्यस कार्यलाई गैह्र जिम्मेवारीको पराकाष्ठ भएको प्रतिक्रिया भिडबाट आइरहेको थियो।
बल्ल बल्ल एक ड्राइभरले ट्याक्सी रोके, अर्धचेत अवस्थामा नाक र मुखबाट रगत बगिरहेका घाइतेलाई ट्याक्सीको पछाडि राखे तर बिडम्बना घाइतेसँग अस्पताल जान कोहि तयार भएन। ट्याक्सी भित्र घाइते समातेर बस्न पनि कोहि मानेनन्।
यी सारा दृश्यका अगाडि मैले पनि आफ्नो भूमिका खोज्दै ट्याक्सीको ढोका खोलेर अगाडि बसेँ। त्यही भएका युवालाई घाइतेसँग बसिदिन आग्रह गरेँ। तर मानेनन्। एकले अर्कोलाई ‘तँ जा’ भन्दै धकेला धकेल मात्रै गरें ट्याक्सी भित्र कोहि छिरेनन्। ट्याक्सीवालाले कृपया घाइतेको टाउको समाइदिनुस् एक जना अस्पताल हिड्नुहोस् भनेर अनुरोध गरिरहेका थिए। सडकमा बत्ति थिएन। मोवाइलको लाइट घाइतेतिर बढी परेकाले घाइतेलाई हेर्न सकिन्थ्यो। मुख र नाकबाट रगत बगिरहेको थियो।
धेरै पछि प्रहरी आए। घाइतेलाई अस्पताल लान भन्दा पनि घटनास्थलको प्रकृति अवलोकनमा प्रहरी व्यस्त भएको देख्दा सबैजना कराए। धेरैले कराए पछि एक जना प्रहरी बल्ल घाइतेसँग बसे र ट्याक्सी अस्पताल तिर लाग्यो।
अस्पतालभन्दा झण्डै ५ सय मिटर दुरीमा भएको दुर्घटनाका घाइतेलाई अस्पताल पुर्याउन झण्डै आधा घण्टा भन्दा बीढि लाग्यो। एउटा बोरा बोकेका उनी को हुन् र के काम गर्छन् भन्ने बारे पछि प्रहरीसँग बुझ्दा थाहा लाग्यो। कास्कीको भरतपोखरी ६ का ५२ वर्षिय विष्णु प्रसाद अधिकारी सामसुङ गल्लिमा चटपटे बेचेर जीविका चलाउँदै आएका रहेछन्। उनी नयाँबजारमा डेरा गरी बस्दा रहेछन्। पोखराको मणिपाल अस्पतालको न्युरो आइसियुमा उपचारत उनको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोत जनाएको छ।
समयमै अस्पताल पुर्याउन सकेकेा भए उनको अवस्थामा केहि सुधार हुन सक्ने प्रशस्त आधार थिए तर पनि घटनास्थलका मानिस रमिते बनिदिदा घाइतेको अवस्था थप जटिल बन्न पुग्यो।
यस्ता दृश्य दिनहुँ सडकमा भइरहन्छ र यसलाई सामान्य रुपमा लिने हाम्रो मानसिकता भइसकेको छ। आजकाल मानिस घरै अगाडि भएको दुर्घटनामा समेत पुग्न छाडिसके। वल्लो पल्लो घरमा कोहि कसैको मृत्यु भयो भने छिमेकीनै बेखबर हुन्छन्। आफन्तबाहेक अरुलाई संवेदनाले छुदैन। केहि औपचारिकता देखाउनु पर्ने सम्बन्ध रहेछ भने पत्रिकामा समवेदना छापेर औपचारिकता पुरा गर्ने संस्कारको विकास भएको छ।
संसारको चेतनशिल प्राणिको उपमा पाएको मानिस मानवीय मुल्य मान्यता बाट टाढा हुँदै आफू र आफन्तमा बढि केन्द्रित हुन थालेको छ। जात– जाति, धर्म –धर्मावलम्बि, भाषा–भाषि, धनि–गरीब र महिला–पुरुष भनेर टुक्रिरहेको छ। मानवीय संवेदना पनि यसै गरी विभाजित बनेका छन्। मानव हुनको धर्म र कर्तब्य अहिले गौण विषय बनिरहेकेा छ।
यसरी मानिसमा मानविय संवेदना घट्दै जाँदा समाजमा अपराधले पनि प्रश्रय पाइरहेकेा छ। समाजमा सामाजिक प्राणि बीचको सहिष्णुता, सद्भाव र एकता हराउँदै गएको छ। मानिस कठोर र निर्दयी बनिरहेको छ। आत्मकेन्द्रित बन्दै नैतिक जिम्मेवारीलाई तिलाञ्जलि दिइरहेको छ। सामाजिक प्राणिको नाताले समाजलाई मजबुद पार्न, एक अर्का प्रति मानवीय संवेदनाको खाँचो यतिबेला जताततै भइरहेको छ।