संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले चैत मसान्तभित्र माग पूरा नभए वैशाखको पहिलो साता आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ।
मोर्चाका शीर्ष नेताको विहिवार तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरको भक्तपुरको सानोठिमीस्थित निवासमा बसेको पाँच घण्टा लामो बैठकले वैशाखको पहिलो साता आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरी आन्दोलनका कार्यक्रम तय गर्ने जिम्मेवारी सचिवालयलाई दिएको छ।
मोर्चाले आफूले राखेका माग सम्बोधनका लागि सरकार गम्भीर नभएको निष्कर्षसहित सचिवालयलाई आन्दोलनका कार्यक्रम तय गर्ने जिम्मेवारी दिएको हो।
बैठकले यसअघि गरिएको आन्दोलनमा भन्दा बढ्ता सहभागीता जुटाउने गरी आन्दोलनका कार्यक्रम तय गर्न सचिवालयमा रहेका नेताहरुलाई निर्देशन दिएको छ। मोर्चाले मधेशका जिल्लामा दुई वटा प्रदेशको माग गर्दै गत साउन महिनादेखि माघ महिनासम्म आन्दोलन गरेको थियो। मोर्चाको माग सम्बोधनका लागि भन्दै सरकारले गत फागुन ६ गते उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक समिति गठनको निर्णय गरे पनि समितिले अझै पूर्णता पाउन सकेको छैन। मोर्चाले आफ्ना माग सम्बोधनका लागि तीन साता पहिला प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर चैत मसान्तसम्मको अल्टिमेटम दिएको थियो। तर मोर्चाको मागका सम्बन्धमा प्रधानमन्त्री ओली र एक सदस्यीय राजनीतिक समितिले अहिलेसम्म मोर्चासँग वार्ता गर्न चासो देखाएका छैनन् ।