भारतीय राजदूत रणजित रेले नेपाल–भारतको सम्बन्ध आत्मीय रहेको बताएका छन्।
पाल्पा उद्योग वाणिज्य सङ्घ पाल्पाले गरेको स्वागत कार्यक्रममा उनले नेपाल र भारतबीच केही खटपट हुनु सामान्य भएको बताएका हुन्। वार्ता र सहमतिबाट समस्या समाधान हुने उनले बताए।
नेपालमा विकासको फड्को मार्न भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको बताए। पाँच करोडसम्मको भारतीय दूतावासले सिधै लगानी गर्न सक्ने भएकाले प्याकेजमा कार्यक्रम बनाउन उनले अनुरोध गरे। भारतले दक्षिण एसियाको नै विकास गर्न चाहेको उनले बताए।
भारतले विकासको राजनीति गरेको बताउँदै उनले शिक्षित र दक्ष जनशक्ति नेपालले उत्पादन गर्न सकेको अवस्थामा नेपाली बेरोजगार नहुनुपर्ने बताए।
कार्यक्रममा पाल्पाको विकासका लागि धेरै सम्भावना रहेको र त्यसका लागि भारत सरकारको सहयोग रहने पनि उनले बताए।
पूर्वमन्त्री माधव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल–भारतको सम्बन्ध फराकिलो बनाउन नयाँ काम सुरु भएको बताए। उनले नेपाल–भारत मिलेर दुवै देशको विकास गर्न सकिने धारणा राखे।
पाल्पाको पर्यटन विकासका लागि सिद्धबाबा क्षेत्रको सडक सुधार गर्नुपर्ने धारणा उनको भनार्इ छ। नेपाल सरकारले यस सिद्धार्थ राजमार्गको निर्माणका लागि भारत सरकारलाई अनुरोध गरेमा भारत सरकारको प्राथमिकतामा पर्ने आशा उनले व्यक्त गरे।
यसैबीच, रायले जिल्लाका राजनीतिक दलका प्रमुख, व्यवसायीलाई समेत सामूहिक रुपमा भेटेका थिए। रासस