'नेपालमा फुटवल खेलेर बाँच्नै कठिन भयो, विदेशिनुको विकल्पै भएन। नेपालमा नै फुटवल खेलेर देश र आफ्नो नाम सारालाई चिनाउने धोको थियो नि दाई तर त्यो पूरा गर्न सकिएन। आफन्त र छिमेकीसँग रकम सापटी लिएर कतिन्जेल फुटवल खेल्ने, त्यसैले म त ८ महिनाअघि ऋण काढेर कतार आएँ।'
२६ वर्षका अमिरको घर हेटौंडाको पशुपतिनगरमा हो। उनी राम्रा फुटवल खेलाडी हुन्। २०६० सालअघि हेटौंडाको इन्टरनेट एफसीबाट उनले फुटवलमा डेब्यु गरे। त्यसपछि २०६० सालमा उनी एन्फाले छानेको अण्डर १४ मा छनौट भए।
३ वर्ष एन्फाको अण्डर १४ मा रहदाँ पनि उनले उत्कृष्ट मिडफिल्डरको भूमिका निर्वाह गरेका थिए। राष्ट्रिय टोलीका कप्तान विराज मर्हजन तथा अन्य खेलाडी रबिन श्रेष्ठ, भरत खवास, शिव श्रेष्ठ, विक्रम लामा उनकै ब्याजका हुन्। अण्डर १४ मा रहँदा उनीहरु एकसाथ खेल्थे।
त्यसपछि २०६३ सालमा ए डिभिजन लिग सुरु भयो। ललितकृष्ण श्रेष्ठले अमिरले राम्रो खेलेको भन्दै एन्फाबाट आफ्नै क्लव थ्रिस्टारमा लगे। लिगमा उनले १० वटा खेल खेले जस्मा ३ गोल अमिर नै गरे।
लिग सकिएपछि उनी मछिन्द्र क्लव गए। सशस्त्र प्रहरीको एपीएफ क्लवबाट ३ वर्ष खेले। २०६८, ६९ र ७० सालमा मनाङ मर्स्याङदीबाट लिग खेले। जसमा अमिरले ९ गोल गरेका थिए। मनाङ मस्याङदीबाट लिग खेलेपछि उनी लुम्बिनी क्लवबाट पनि यसअघिको लिग खेले। त्यसपछि घरमा आराम गरिरहेका अमिरको मन बहकियो।
खेलाडी भएर परिवारको त के आफ्नै ज्यानसमेत पाल्न धौ धौ भएपछि उनी ५ लाख ऋण मागेर कतार उडे। उनी अहिले कतारमा स्टाभेटर अपरेटर छन्। उनको कमाइ अहिले टन्नै छ। कतार गएको ऋण अमिरले भर्खरै तिरेर सकाएका छन्।
लुम्बिनी क्लवबाट लिग खेलेपछि घरमा बसेका उनी घर नजिकै रहेको क्रसरमा गएर स्काभेटर चलाउन सिकेका थिए। कतारमा काम गर्न अमिर समय निकालेर फुटवल पनि खेल्छन्। कतारमा पनि नेपालीहरुको फुटवल टिम छ। त्यसको फरवार्डबाट खेल्ने अमिर नै हुन्। 'आफू जहाँ गएपनि फुटवल खेल्ने इच्छा राखे पुरा हुँदो रहेछ', अमिरले भने, 'यहाँ पनि नेपाली फुटवलको स्तर निकै राम्रो छ। नेपालकै तर्फबाट खेल्न पाउँदा मन निकै खुसी हुँदो रैछ।'
कतारमा जोर्डन, लेवनान, भारत, जापान, कोरिया, इन्डोनेसिया लगायतका देशका फुटवल टोली भन्दा नेपाली पनि कम्तिको नरहेको अमिरले बताए। कुनै उपाधि जिते सरकारले प्रोत्साहन स्वरुप केही महिना मात्र पुग्ने रकम उपहार दिने, पराजित भए निरुत्साहित पार्ने काम गर्ने, खेलाडीहरुलाई पुग्ने मासिक भत्ता नदिनेजस्ता समस्याले आफू खाडी मुलुक कतार आएको उनले सुनाए।
सरकारले खेलाडीहरुलाई राज्यमा नै बस्ने वातावरण बनाउन दीर्घकालीन योजना नै ल्याउन नसकेको अमिरको गुनासो छ। राष्ट्रिय टिममा रहेका खेलाडीहरु पनि राम्रो काम पाए खाडी मुलुकमा पसिना बगाउन जान आतुर रहेको अमिरले बताए। नेपालका कतिपय राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले आफूलाई फोन गरेर कतारको भिसा पठाउन बारम्बार आग्रह गर्ने गरेको अमिरले सुनाए।