दुई साताअघि आफैंले कालोबजारीको नाइके भन्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको व्यक्तिलाई अतिथ डाकेर विद्यार्थी संगठनले सडक बहस चलाएको छ।
उजुरीकर्ता अनेरास्ववियुले आरोपी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई मंगलबार प्रमुख अतिथिझैँ कार्यक्रममा बोलाएर स्पष्टीकरण दिने मौका दिएको हो। नागरिक दैनिकमा समाचार छ।
खड्काले पनि उक्त मौकाको राम्रै उपयोग गरेर आफूले घुस लिएर कालोबजारी गरेको प्रमाण देखाउन विद्यार्थी संगठनलाई चुनौती दिए। खड्काले आफूले अनियमितता गरेको प्रमाण कसैले पेस गरे राजीनामा दिन तयार रहेको चुनौती दिँदै गर्दा १५ दिनअघि अख्तियारमा उजुरी दिनेहरु भने चुपचाप उनको भाषण सुनिरहेका थिए।
सरकार नेतृत्व दल नेकपा एमालेको भ्रातृसंगठन अनेरास्ववियुले गत चैत ३ गते खड्कालगायत कालोबजारीमा संलग्न सबै कर्मचारीमाथि कारबाही माग गर्दै अख्तियारमा उजुरी दर्ता गरेको थियो।
खड्कालाई अतिथि बनाएर सडक बहस आयोजना गरेकोमा अनेरास्ववियुकै केही नेता भने असन्तुष्ट छन्।'कार्यक्रममा खड्काले विद्यार्थीलाई कक्षा लिएझैं पढाए,' अनेरास्ववियुका सचिव सुदेश पराजुलीले भने।
'अभाव, महँगी र कालोबजारी: समाधान कसरी?' विषयक सडक बहसको आयोजक अनेरास्ववियुले भने खड्कालाई आफूहरुले कठघरामा उभ्याएको दाबी गरेको छ। 'कार्यक्रमलाई खड्काले राम्रै उपयोग गरे,' पराजुलीले भने, एकातिर नागरिक इन्धनमा संस्थागत कालोबजारीले पीडित छन्, अर्कोतिर आन्दोलनरत संगठनले नै आरोपीलाई सफाइ दिने मौका दियो।'
खड्काले बोल्दै गर्दा बहस सुनिरहेका विद्यार्थीले हुटिङ गर्न थालेपछि आयोजकले शान्त भएर भाषण सुन्न आग्रह गरेको देखेर आफूलाई लाज लागेको भन्दै पराजुलीले कालोबजारी र माफियाकरणविरुद्ध आन्दोलन दिग्भ्रमित भएको बताए।