प्रधानमन्त्री केपी शर्मा ओलीसँग 'चाइना पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स'का उपाध्यक्ष झेङ्ग सिआओपिन, महासचिव झाओ जेनयोङ्ग, सियानका भाइस गभर्नर यु यिन लिङ लगायतका नेताहरुले भेटवार्ता गरेका छन्।
चीनको सियानस्थित होटल सांग्रीलामा शुक्रबार भएको भेटवार्तामा दुई देश बीचको आपसी सम्बन्ध र हितका साथै नेपालमा भूकम्पपछिको पुनर्निर्माण लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।
भेटमा चिनियाँ नेताहरुले भूकम्पपछि नेपाललाई सान्सी प्रान्तले गरेको सहयोगका बारेमा जानकारी गराए। प्रधानमन्त्री ओलीले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन सियानका नेताहरुलाई निमन्त्रणा गरे।
प्रधानमन्त्री ओलीले आज सियानको ऐतिहासिक तेरा कोट्टा सैनिक संग्रहालयको अवलोकन भ्रमणसमेत गरेका छन्।
उनले आज सियानमा उद्योगी व्यावसायीको फोरमलाई सम्बोधन गर्नेछन्। आजै सियान मेडिकल युनिभर्सिटिको भ्रमण गर्नु कार्यक्रम पनि छ।
प्रधानमन्त्री ओली आजै साँझ सियानबाट छेन्दु प्रस्थान गर्नेछन्।