राष्ट्रिय योजना आयोगकी सदस्य सुमित्रा अमात्यले भूकम्पपछि पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण गठन भएर काम सुरु भएको बताएकी छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा आज यहाँ आयोजित एकदिने भूकम्पपछिको बसोबास योजना सम्मेलनको उद्घाटन गर्दै उनले भूकम्पपीडितको मन जित्ने गरी प्रभावकारी ढङ्गले प्राधिकरणले काम गरिनुपर्नेमा जोड दिइन्।
‘एक सहर एक पहिचान’ लागू हुने योजनाका साथ पुनर्निर्माणमा लाग्न सकेमा दिगो विकास हुन सक्ने उनले धारणा राखिन्। “योजना बनाउने मात्र होइन कार्यान्वयन पनि उत्तिकै आवश्यक छ”–उनले भनिन्।
नास्टका उपकुलपति जीवराज पोखरेलले विज्ञान प्रविधि विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थासँग सहकार्य गरी काम गरिरहेको बताए। उनले भूकम्पपछि पीडितले भोगेका समस्या समाधान र पुनर्वासका लागि तत्काल सबै पक्षबाट सहयोग गरिनुपर्नेमा जोड दिए।
उनले भूकम्प प्रतिरोधात्मक घरको नक्साङ्कनबारे व्यापक प्रचारमा आए पनि ठोस योजना कस्तो हो भन्ने बुझाउन आवश्यक रहेको बताए।
सो अवसरमा डा भक्तनन्द बज्राचार्यद्वारा लिखित ‘काठमाडौं आर्किटेक्चर एन्ड इनभाइरोमेन्ट’ नामक पुस्तक आयोगका सदस्य डा अमात्यले लोकार्पण गरेका छन्। रासस