महोत्तरी प्रहरीले अवैध रुपमा सञ्चालनमा रहेका अवैध घरेलु मदिरा भट्टीहरु नष्ट गर्ने कार्यलाई तीब्र बनाएको छ। जिल्लाका विभिन्न स्थानमा छापामारी मदिरा उत्पादन गर्ने लाखौंको सामानसमेत प्रहरीले जफत गरेको छ।
अवैध मदिरा भट्टीबाट २ हजार ६ सय ५८ लिटर कच्चा पदार्थ, ८ सय ६५ लिटर तयारी मदिरा प्रहरीले नष्ट गरेको छ। यस्तै २४ वटा मदिरा भण्डारण गर्ने ड्रम, १० वटा मेसिन, ग्यालेन लगायतका विभिन्न सामग्री नियन्त्रणमा लिएर जफत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईले बताएका छन्।
घरेलु मदिराका कारण पनि जिल्लामा अपराधिक क्रियाकलाप बढेकोले त्यसलाई नियन्त्रण गर्न अवैध घरेलु भट्टीहरु नियन्त्रण गर्ने अभियान सुरु गरिएको उनले बताए।
जलेश्वर नगरपालिका क्षेत्रको विभिन्न वडाहरुमा संचालनमा रहेका अवैध मदिरा भट्टीहरु पूर्ण रुपमा नष्ट गरिएको छ भने भ्रमरपुरा पडौल महदैयातपनपुर लगायतका गाविसमा रहेका १० वटा जति अवैध भट्टी नष्ट गरिएको उनले बताए।
साथै मदिरा उत्पादन तथा सञ्चयका लागि प्रयोग गरिने टिन र प्लाष्टिक ड्रम, ग्यास चुलो मदिरा चुहाउने मेसिनलगायत सामान नियन्त्रणमा लिइएको छ।
महोत्तरीमा वार्षिक करीब ३ करोड रुपैंयाभन्दा माथिको नक्कली मदिरा उत्पादन र बिक्री हुनेगरेको छ।
आन्तरिक राजस्व कार्यालय जनकपुरका अनुसार महोत्तरीमा १३ वटा होलसेल वितरक र १ सय ६५ वटा मदिरा पसल दर्ता भएका छन्।