यो वर्ष उपत्यकामा होलीका दिन दुर्घटना शून्य भएको छ। उपत्यकाका विभिन्न स्थानमा गरिएको कडा सुरक्षा जाँचले दुर्घटना नभएको ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुले सेतोपाटीलाई बताए।
मंगलबार बिहान ७ बजेदेखि राति १० बजेसम्म गरिएको चेक जाँचका क्रममा २०९४ वटा मोटरसाइकल कारबाहीमा परेका छन्। कारबाहीमा परेका मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रमा लिएको थियो। ‘फेरि पनि अर्को ठाउँमा ती मोटरसाइकल कारबाहीमा पर्ने भएकाले दुर्घटना नहोस् भनेर हामीले कारबाहीमा परेका मोटरसाइकल नियन्त्रणमा लिएका हौ,’ उनले भने,‘ कारबाहीमा परेका मोटरसाइकललाई बेलुका ६ बजेमात्र छोडियो।’
कारबाहीमा परेका २०९४ मोटरसाइकल मध्ये २३७ मापसे कारबाहीमा परेको उनले बताए।
मंगलबार कुनै पनि पैदल यात्रुलाई कुनै पनि सवारीले ठक्कर दिएन। उपत्यकामा दूर्घटना शून्य नै भएको दाबी हाथेछुले गरे।
सवारी चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने,हेल्मेट तथा लाइसेन्स बिना सवारीसाधन चलाउने कारबाहीमा परेका हुन्।
अघिल्लो वर्ष उपत्यकामा होली खेल्ने क्रममा ३ जनाको छतबाट लडेर मृत्यु भएको थियो भने करिब ९ वटा ठूला सवारी दुर्घटनाहरु भएका थिए।
उपत्यकामा ट्राफिक महाशाखाको समन्वयमा ट्राफिक प्रहरी र जनपथ प्रहरी संयुक्तरुपमा कार्वाही अभियान चलाएको छ । ५३ स्थानमा चेकप्वाइन्ट राखिएको थियो भने जनपथ प्रहरीले गस्तीलाई बढाएको थियो ।