२८ जनाको ज्यान जाने गरी बेल्जियमको राजधानी ब्रसेल्समा मंगलबार भएको बम अाक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। तर जसरी यो अाक्रमण भएको छ, त्यसले शक्तिशाली आतंककारी समुहको संग्लनता रहेको बेल्जियमका अधिकारीले अनुमान गरेका छन्।
यो अात्मघाती अाक्रमणपछि फेरि सबैको ध्यान अरब मुलुक सिरियालाई केन्द्र बनाएर संसारभर आफ्ना जिहादी क्रियाकलाप बिस्तार गरिरहेको इस्लामिक आतंककारी संगठन आइएसमा केन्द्रित भएको छ। गतवर्ष फ्रान्सको राजधानी पेरिसमा हमला गरेको अभियोगमा केहीदिन अघिमात्र आइएसका सदस्यलाई बेल्जियममा पक्राउ गरिएको थियो। पेरिस हमलामा १२० जनाको ज्यान गएको थियो।
आइएस समूहले युरोपियन मुलुकलाई आफ्नो तारो बनाउँदै आएको छ। त्यसो त आइएसमा भर्ना हुन युरोपका मुलुकबाट धेरै मुस्लिम युवाहरु सिरिया र इराक पुगेका बताइएको छ। युराेपबाट सबैभन्दा बढी फ्रान्सबाट, त्यसपछि बेलायत र जर्मनीबाट युवाहरू अाइएसमा भर्ती हुन जान्छन्।
सिरियाको धेरै भूभाग कब्जा गरेर आफ्नो जिहादी गतिबिधि चलाइरहेको आईएसले धेरै तेल खानीहरू कब्जा गरी आफ्नो आर्थिक हैसियत बढाएको छ। आफ्नो कब्जामा रहेका तेलखानीबाट आइएसले प्रतिमहिना पाँच करोड अमेरिकी डलर भन्दा बढीको तेल बेच्ने गरेको अनुमान छ।