राष्ट्रपति विद्यादेवी भण्डारीले होली पर्वले सबै नेपालीबीच सामाजिक एकता कायम गर्दै बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छिन्।
सबै नेपालीले हर्षोल्लासपूर्वक मनाउने फागुपूर्णिमाका अवसरमा मंगलवार सन्देश जारी गरी उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, भाइचारा एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरेकी छिन्।
भण्डारीले जारी गरेको सन्देशमा यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरिएको छ।
'विविधताले भरिपूर्ण सिङ्गो नेपाली संस्कृति आफैँमा मौलिक, समृद्ध रहेको र यो पर्वले सबै नेपालीमा खुसीका रङहरु छर्दै नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैल्याउन सकोस् राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,'सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण राख्न सकोस्।'
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि फागु पर्वको अवसरमा सवै नेपालीको सुख, समृद्धि, सुस्वास्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन्। 'शरद् ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद् समयमा आउने यस पर्वले सम्पूर्ण नेपालीलाई एक सूत्रमा जोड्दै आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न तथा आपसी मेलमिलापको वातावरण समेत सिर्जना गर्नेछ, शुभकामना सन्देशमा उल्लेख छ।'